कुनै पनि चोट वा पिडा यति गहिरो हुन सक्दैन जसले जीवनलाई नै अन्धकारमय बनाउन सकोस । घटनाले परिस्थितिमा बदलाव ल्याउने पक्का हो । तर सिर्जित परिस्थिति पनि फेरी बदलिने कुरा अकाट्य छ । प्रकृतिमा कुनै यस्तो चिज नै छैन जुन हरेक क्षण परिवर्तन नभएको होस् । आफैलाई ध्यान दिएर नियालेमा सबैभन्दा सजिलो उत्तर पाउन सकिन्छ । जन्म र मृत्युको बिचमा लगातार हाम्रो शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन आउने कुरा सबैले महसुस गरेकै हुन्छ । यसलाई रोक्न सक्ने क्षमता आजको विज्ञानमा पनि छैन। जिन्दगीमा सही दिशा लिएर जीवनलाई आदर्श बनाउन कमैले सकेका हुन्छन् । कर्म गर्नु जरुरी छ। कोही पनि मानिस बिना कर्म गरि यो संसारलाई त्याग्न सक्दैन। कुनै पनि कर्म सानो वा ठुलो हुँदैन। तर स्वार्थ रहित भए सुनमा सुगन्ध हुन्छ। स्वार्थ रहित कर्म भनेर कस्तो कर्मलाई बुझ्ने भन्ने कुरा सायद बहसको बिषय हुन सक्छ। मेरो नजरमा कुनै पनि पेशामा पहिलो सर्त सेवा हुनु अत्यन्त आवश्यक कुरा हो । व्यापार व्यवसाय अथवा कुनै पनि काममा यदि सेवा भाव अगाडि छ भने यसले अरु मानिसको मात्र कल्याण हुने होइन आफ्नो कल्याण त सबैभन्दा पहिले भएको हुन्छ। हामी प्राकृतिक तत्व सबै एक हौं त्यसमा कुनै शंका छैन। सबैलाई सबैको उत्तिकै आवश्यकता छ। अर्थात् सबै प्राकृतिक तत्व एक अर्कामा आश्रित छन् । तर जब संसार नै हरक्षण परिवर्तनशील छ भने हाम्रो अस्तित्वको यहाँ के नै मोल छ र? यसकारण घटनाले परिस्थितिमा बदलाव ल्याएर के नै हुने हो र, हामी खुसी वा उदास हुनु पर्ने। वास्तवमा, अवास्तविक खुसी र दु:ख त हामी आफै सिर्जना गर्ने गर्छौं। तर सत्यमा दुवैको कुनै अस्तित्व नै छैन। हामी त अन्धकारमा बाँचेका छौं अर्थात् अनुकुल परिस्थिति भए खुसी भएको भान गर्छौं भने प्रतिकुल परिस्थिति भए दुखी भएको भान गर्छौं। मानव जीवनमा घटनाको शृंखला नमरेसम्म सकिदैन भने किसिम किसिम परिस्थितिले सुख र दु:ख महसुस गराउन छोड्ने पनि छैन। त्यसैले घटनालाई महत्व दिँदा अनुकुल परिस्थिति बने अभिमानी बनाउछ भने प्रतिकुल परिस्थिति बने भय सिर्जना गराउछ । त्यसैले जीवन मरणको यो असत्य दुनियाँमा घट्ने घटना र उत्पन्न हुने परिस्थिति एउटा माया हो। यसलाई बुझे जीवन अमृत तुल्य छ नबुझे विषको भण्डारमा वास छ।
CopyRight:RajuSubedi
Feel Free to Share
No comments:
Post a Comment