Friday, February 24, 2017

लघु कथा: छल

रमेश आफ्नो जीवनमा खुसीले बाचेको भर्खरको केटो । ऊ सधै प्रफुल्लित रहन्छ। ऊ मौज गर्न चाहन्छ तर उसलाई थाहा छ डिग्री लिनु भनेको अहिलेको बाध्यता हो भन्ने। डिग्रीको धुन र जीवनको धुन उसलाई बिलकुल अलग लाग्छ। तर उसका आफ्नाले उसलाई यति बुझाएका छन् पढाई के हो भन्ने। केही समयमा ऊ पढेर राम्रो नम्बरमा पास भयो अनि राम्रो काममा पनि लाग्यो। साथै राम्रो कमाउन पनि थाल्यो । अहिले ऊ आफ्नो कमाईमा रमाएको छ। उसका आमा बाबालाई चाहिएको भएको छ। उसको आफ्नै केटी भएको हुँदा घरबाट केटी खोज्न पनि परेन। उसका आमा बाबा अलि आधुनिक भएको हुँदा जात नमिले पनि केही रोष प्रकट गरेनन बरु धुमधामसंग विहे गरिदिए। आज ऊ एउटा छोरीको बाबु बनिसकेको छ । घर सम्पन्न त थिदै थियो अझ उसको राम्रो आयले नयाँ रौनक ल्याएको छ । इष्ट मित्र अनि छर छिमेकीले अहिले उसलाई इर्ष्याको नजरले हेर्ने गर्छन भने जवान केटा केटीले आदर्शको रुपमा लिने गरेका छन् । उसकी श्रीमती साँच्चीमा असलको मिसाल छे । तर भाग्यको बिडम्बना एउटी अर्की केटी उसको जीवन बिगार्नमा उद्दत छे । बिचरा रमेश आफुलाई हरसम्भव त्यसबाट टाढा राख्ने कोसिस गर्ने गर्छ । तर केटीको त्रिया चरित्रले उसलाई परेशानमा पारेको छ । ऊ भाग्न खोज्दा त्यो केटी नजिक भई दिन्छे । अनि उसलाई बिचलित पारिदिन्छे । ऊ जब नजिक जान खोज्छ केटी पर भई दिन्छे । यो विचित्रको दुविधामा रमेश फसेको छ । निस्किने उसका प्रयास बारम्बार असफल हुने गरेको छ । रमेशको मन कति ग्रस्त हो जालिम केटीबाट छुटकारा पाउन नसक्ने । अनि केटी कस्ती हो केटालाई झुलाएर मजा लिन खोज्ने । आखिरी समयले रमेशलाई कुरा बुझायो । त्यो केटीको भयङ्कर चालको भान उसलाई भएको छ । उसको श्रीमतीको आनन्दको डाहले केटीले यस्तो तगारो खडा गरेको बुझेको छ । त्यसैले आफ्नो जीवनबाट त्यस इर्ष्यालु केटीलाई सदाको लागि हुर्याएको छ । आज ऊ तनाव मुक्त भएको छ । फेरी उसको जिन्दगीमा बहार आएको छ ।  

समाप्त  

Saturday, February 18, 2017

जीवनमा घमण्ड कति जरुरी ?

घमण्ड शब्दले आफु अरु भन्दा जान्ने सुन्ने हुँ भन्ने अवगत गराउँदछ । यहाँ धनको घमण्ड गर्नेहरुको संख्या व्यापक भेटिने गर्छ । हुन त घमण्ड गर्नेलाई धन नै चाहिन्छ भन्ने छैन । चाहिने नचाहिने सबै कुरामा घमण्ड गर्नेहरु पनि प्रशस्त भेट्टिने गर्दछन् । घमण्ड गर्नु राम्रो कुरा कदम कदाचित हुनै सक्दैन । तर मानिसमा केही मात्रामा यसको उपस्थितिले फाइदा नै गराएको हुन्छ । घमण्डले उन्नति गर्न उत्पेरित गराएको हुन्छ । त्यसले त्यति धन कमाएको छ मैले त्यो भन्दा बढी कमाउछु या त्यो भन्दा धेरै पढ्छु यस्तै यस्तै कुराले मानिसमा प्रगति गर्ने भावना सिर्जना भएको हुन्छ । तर कतिपय मानिसमा घमण्डको नकारात्मक प्रभाव पर्न गई आफ्नो स्व-अस्तित्व बिर्सी मन बुद्दी दुवैले अन्धो हुने गर्दछन् । सबैको अगाडी आफुलाई मपाई बनाउन गर्ने यत्नको घमण्ड र आफ्नो विकासका साथै जनसेवाको लागि लक्ष्य प्रेरित प्रगतिको घमण्ड गर्नु नितान्त फरक कुरा हो । आफ्नो मनको अठोट पनि एउटा घमण्ड नै हो तर यसले एउटा निर्देशित दिशा दिएको हुँदा मानिस प्रगति तिर लम्किन्छ । अठोटको घमण्डले जो कोही पनि आफुले लिएको लक्ष्य सम्म पुग्ने लगभग पक्का हुन्छ । यो कोही यदि प्रतिस्पर्धामा विश्वास राख्ने र जितको दौडमा रहेछ भने उसको अठोट मानव कल्याणमा होइन खुद उसको कल्याणमा मोडिन पुग्छ । र, ऊ एउटा अति घमण्डी मानिस बन्दछ । यस्ता कोहीले नाम दाम दुवै कमाए पनि समाजको नजरमा उसको खासै इज्जत नहुने पक्का हो । आफ्नो प्रगतिको लागि कसैलाई आदर्श बनाउनु र त्यो उचाई सम्म पुग्ने लक्ष्य लिनु सानो घमण्ड हुन सक्दैन । तर आदर्श मान्नेलाई जित्ने प्रयत्न कसैले गर्दैन । त्यसैले यस्ता व्यक्तिको लक्ष्य प्राप्ति समाजको लागि कल्याणकारी हुने कुरा सबैले स्वीकार्नै पर्छ । मानव मात्र एउटा यस्तो प्राणी हो यो धर्तिमा जसले चाहेमा आफ्ना विशेष गुणहरु अरु मानिसलाई दिन वा सिकाउन सक्दछ । तर घमण्ड गर्नेले आफ्नो गुण अरुलाई दिन कहिल्यै सकेको हुदैन । किनकी उसलाई यो डर सदा रहन्छ कता ऊ भन्दा उसको बिद्यामा अरु बढी जान्ने हुने हुन कि भन्ने । तर साच्चै नै प्रकृति मैत्री व्यक्ति त्यो हो जसले आफ्ना राम्रा गुण सबैलाई बाँड्दै सिकाउदै जान्छ । यस्ता महापुरुषबाट समाजले, देशले सही दिशा पाउने कुरा युधिष्टिरको बाणी जस्तै सत्य हो । अन्त्यमा, घमण्ड त्यो चिज हो जुन जाने धर्तिमा स्वर्ग बनाउन सघाउछ भने नजाने नर्कमा बस्न बाध्य गराउँछ ।
CopyRight:Raju Subedi

Tuesday, February 14, 2017

प्रेम किन नहोस् !!

 प्रेमको खोज भनेको सायद जीवनको नै खोज हो । प्रेम बिना जीवन अधुरो मानिन्छ । आकर्षण जीवनमा धेरै थरिका हुन्छन् । तर स्त्री र पुरुषको अर्थात् विपरीत लिङ्गीको आकर्षण संसारमा पहिलो जानिने वा महसुस गरिने आकर्षण हो । किनभने सारा सृष्टि नै यसैमा टिकेको छ । त्यसैले मिथ्या संसार भने पनि एउटा अलग पाटोले असत्यमा सत्य हो । प्रेम शब्द नै आफैमा पूर्ण लाग्ने गर्दछ । प्रेमको अर्थ हो बाड्नु । तर मोह आशक्ति हो अर्थात् पाउने आश । उमेरको ठुलो खेल छ संसारमा । किशोर अवस्था देखि एउटा समयको परिधि भित्र विपरीत लिङ्गीमा मोह नै हावी हुने गर्दछ । याने शारीरिक आकर्षण । यही समय नै पृथ्वीको उर्वर समय हो नयाँ पिडी थप्ने । के यो बेलाको मोह प्रेममा परिवर्तित हुन्छ त ? हुन्छ । किनभने कुनै पनि प्राकृतिक रस यस्तो छैन जसको आकर्षण फिक्का नभएको होस् । हो त्यसैले मोह पनि प्रेममा परिवर्तित हुन्छ । इच्छा पनि अनिच्छामा परिवर्तन हुन्छ । मोहलाई जागृत गर्ने इच्छालाई नै समयले कमजोर बनाउने गर्छ भने अरु के भन्ने । जब इच्छाको प्रबलता शिथिल हुन पुग्दछ तब प्रेम प्रकाशित हुने गर्दछ । अर्थात् मोहको रुपमा देखिएको प्रेम पनि प्रेम नै हो । त्यसैले त प्राकृतिक नियम अनुसार एउटा केटाले आफु सुहाउँदो केटीको खोजी गर्दछ भने केटीले पनि आफ्नो प्रेममय संसार बनाउन असल केटाको खोजी गर्ने गर्दछन । र संसारलाई अगाडि बढाउने गर्दछन् ।  
CopyRight:Raju Subedi

Saturday, January 28, 2017

भय र अभिमान कसरी ?

कुनै पनि चोट वा पिडा यति गहिरो हुन सक्दैन जसले जीवनलाई नै अन्धकारमय बनाउन सकोस । घटनाले परिस्थितिमा बदलाव ल्याउने पक्का हो । तर सिर्जित परिस्थिति पनि फेरी बदलिने कुरा अकाट्य छ । प्रकृतिमा कुनै यस्तो चिज नै छैन जुन हरेक क्षण परिवर्तन नभएको होस् । आफैलाई ध्यान दिएर नियालेमा सबैभन्दा सजिलो उत्तर पाउन सकिन्छ । जन्म र मृत्युको बिचमा लगातार हाम्रो शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन आउने कुरा सबैले महसुस गरेकै हुन्छ । यसलाई रोक्न सक्ने क्षमता आजको विज्ञानमा पनि छैन। जिन्दगीमा सही दिशा लिएर जीवनलाई आदर्श बनाउन कमैले सकेका हुन्छन् । कर्म गर्नु जरुरी छ। कोही पनि मानिस बिना कर्म गरि यो संसारलाई त्याग्न सक्दैन। कुनै पनि कर्म सानो वा ठुलो हुँदैन। तर स्वार्थ रहित भए सुनमा सुगन्ध हुन्छ। स्वार्थ रहित कर्म भनेर कस्तो कर्मलाई बुझ्ने भन्ने कुरा सायद बहसको बिषय हुन सक्छ। मेरो नजरमा कुनै पनि पेशामा पहिलो सर्त सेवा हुनु अत्यन्त आवश्यक कुरा हो । व्यापार व्यवसाय अथवा कुनै पनि काममा यदि सेवा भाव अगाडि छ भने यसले अरु मानिसको मात्र कल्याण हुने होइन आफ्नो कल्याण त सबैभन्दा पहिले भएको हुन्छ। हामी प्राकृतिक तत्व सबै एक हौं त्यसमा कुनै शंका छैन।  सबैलाई सबैको उत्तिकै आवश्यकता छ। अर्थात् सबै प्राकृतिक तत्व एक अर्कामा आश्रित छन् । तर जब संसार नै हरक्षण परिवर्तनशील छ भने हाम्रो अस्तित्वको यहाँ के नै मोल छ र? यसकारण घटनाले परिस्थितिमा बदलाव ल्याएर के नै हुने हो र, हामी खुसी वा उदास हुनु पर्ने। वास्तवमा, अवास्तविक खुसी र दु:ख त हामी आफै सिर्जना गर्ने गर्छौं। तर सत्यमा दुवैको कुनै अस्तित्व नै छैन। हामी त अन्धकारमा बाँचेका छौं अर्थात् अनुकुल परिस्थिति भए खुसी भएको भान गर्छौं भने  प्रतिकुल परिस्थिति भए दुखी भएको भान गर्छौं। मानव जीवनमा घटनाको शृंखला नमरेसम्म सकिदैन भने किसिम किसिम परिस्थितिले सुख र दु:ख महसुस गराउन छोड्ने पनि छैन। त्यसैले घटनालाई महत्व दिँदा अनुकुल परिस्थिति बने अभिमानी बनाउछ भने प्रतिकुल परिस्थिति बने भय सिर्जना गराउछ । त्यसैले जीवन मरणको यो असत्य दुनियाँमा घट्ने घटना र उत्पन्न हुने परिस्थिति एउटा माया हो। यसलाई बुझे जीवन अमृत तुल्य छ नबुझे विषको भण्डारमा वास छ।
CopyRight:RajuSubedi

Feel Free to Share            

Friday, January 27, 2017

ज्ञान


द्वेष: कामना र अभिमानमा बाधा आउदा क्रोधको जन्म हुन्छ  अन्त:करणमा त्यो क्रोधको जुन सुक्ष्म रुप रहन्छ, त्यसलाई द्वेष भनिन्छ

Friday, January 20, 2017

घटनाले छाप छोड्छ (Short Story)

समय सबैभन्दा बलवान हुन्छ । हो यसले गहिरो आघातलाई पनि धमिलो यादमा बदल्न सक्छ भन्ने यथार्थ मेरो जीवनमा पनि घटित भएको छ। मेरो उमेरले म पैसठ्ठी भईसकेको छु। तर मेरो जीवनको चालिसेमा एउटा विचित्रको घटना घटेको थियो। त्यो बेला म दुई छोरी र एक छोराको पिता भई सकेको थिए। मेरो परिवार मेरो संसार थियो। मेरी पत्नी सुन्दर सुशील अनि काँधमा काँध मिलाएर साथ दिने खालकी थिईन र अझै छिन् पनि। म त्यो बेला सरकारी जागिरे थिए। बच्चा साना हुने बेलासम्म हामी संगै देशको कुना कुनामा पुगेका थियौं। बच्चाहरु त्यही ठाउँको स्कुलमा पढ्दै ठुला हुँदै थिए। मैले तीस बर्षमा विहे गरेको हुँदा बच्चाहरु म चालिस हुँदासम्म पनि सानै लाग्थिए। हाम्रो दिनचर्चा यस्तै खुसी खुसी बित्दै गई राखेको थियो। काठमाडौँमा घर किन्ने र केटा केटीलाई त्यही पढाउने विचारगरि हामीले गाउँको ठुलो जग्गा बेचेका थियौं। जग्गा बेचेको केही समयमा नै साथीहरुको सहयोगले काठमाडौँमा एउटा बाह्र आनामा फैलिएको बनिबनाऊ दुई तल्ले घर किनेका थियौं। यही समयमा केटा केटीहरु पनि अन्तिम परीक्षा दिएर परीक्षाफल कुर्दै थिए। ठुली छोरी यसबेला चारमा जानेवाली थिई भने अर्की छोरी दुईमा अनि सानो छोरो एकमा जानेवाला थियो। केटा केटीलाई काठमाडौँ पढाउने भन्ने हाम्रो सल्लाहले घर किनेपछि मुर्तरुप लिएको थियो। केटा केटीहरुको परीक्षाफल प्रकाशित हुनु अगावै हामी काठमाडौँमा आएर सबै व्यवस्था मिलाएका थियौं। केटा केटीलाई कुन स्कुलमा पढाउने भन्ने पनि निधो गरिसकेको थियौं। मैले सबै व्यवस्था मिलाएर आफ्नो परिवारलाई छाडी महेन्द्र नगर फर्किएको थिए। मेरो त्यति बेलाको दरबन्दी महेन्द्र नगरमा थियो। मैले आफ्नी पत्नीलाई चाडै नै काठमाडौँमा सरुवा मिलाउछु भनी आश्वासन पनि दिएको थिए। तर त्यति बेलासम्म मैले कहीं कसैलाई भनसुन गरेको भने थिएन। भनसुन नगरी यहाँ केही हुँदैन भन्ने थाहा त राम्रैसंग थियो। तर बिडम्बना मलाई भनसुन गर्नु जति दुख केही लाग्दैन थियो। म जहाँ छु त्यही रमाउथिए। म महेद्र नगर फर्किएको पनि तीन महिना भन्दा बढी भईसकेको थियो। यहाँ आएबाट एकपटक पनि काठमाडौँ जान पाएको थिएन। मैले मेहनतले मिलिजुली काम गर्ने भएकोले सबैले मलाई मन पराउथिए। म तहको हिसाबले हाम्रो अफिसमा हाकिम भन्दा तेस्रो मर्यादाक्रममा थिए। हाम्रो हाकिम निला मेडम हुनुहुन्थियो। वहाँ असलको नमुना नै हुनुहुन्थियो। तर मेडम भन्दा एक तह तलको सहकर्मीले वहाँसंग सधै अनेक कुरामा विवाद निकाली रहन्थियो । मेडमले गरेको कुनै काम पनि उसले सजिलै सहमति गर्दैन थियो। मेडमको बारेमा चाहिने नचाहिने कुरा माथि विभागमा चुक्ली लगाएर वाक्कदिक्क पारेको थियो। मेडमले उसलाई नसोधी कति काम मबाट लिने गर्नु हुन्थियो। मैले वहाँको समस्या बुझेर त्यो मेरो काम नभए पनि गरिदिएको हुन्थिए। तर यो मान्छेले के के गरेर मैले गरिदिएको कामको पत्तो पाएकै हुन्थियो। ऊ सुरु सुरुमा मसंग मिल्ने गर्थियो तर बिस्तारै म पनि उसको तारो हुन लागेको थिए। मलाई पनि विभागबाट फोन आउन सुरु गरेको थियो। आलोक जी तपाईको काममा असन्तोष जनाउनेहरु छन् है बच्नु भनेर। मेरो विभागमा राम्रो सम्बन्ध भएकोले साथीहरुले सतर्क गराउने गर्दथिए। यो हाम्रो महेन्द्र नगर अफिसको सेकेन्ड मेनको मन्त्रालयमा आफ्नै कोही राम्रो तहमा रहेछ। त्यसैले उसको फुर्ति अर्कै थियो। र यति विधि सबैलाई सताउने गर्दथियो । त्यसले मेडमलाई आँखा फुटी रुचाउदैन थियो। मेडमको कतिपय काम मैले गर्दिन थाले पछि म पनि उसको दुश्मनको सुचीमा परेको थिए। मैले के पो गर्ला र जाबोले भनेको त यस्तो घटिया काम गर्यो जुन सपनामा पनि सोच्न सकिदैन थियो। उसले मेडम र मेरो बिचमा सम्बन्ध छ भनी यहाँ महेन्द्र नगर अफिसमा मात्र होइन कि काठमाडौँ विभागसम्म हल्ला पुर्याई दिएको थियो। यो कुरा मैले साथीहरुबाट थाहा पाएको थिए । मलाई डर लागेर यो कुरा मैले मेरो पत्नीलाई खुदै बताई केही होइन है भनी विश्वास दिलाएको थिए। त्यही पनि उसलाई तनाव भएको फोनमा महसुस गरेको थिए। मेडम बिचरा दिक्क हुनु भएको थियो। वहाँ बिस्तारै मसंग बोल्न पनि छाडी दिनु भएको थियो। मेरो तथा मेडमको कुनै गल्ती नै नभईकन पनि हामी सबै तनावमा परेका थियौं। मेडमको श्रीमान त्यो बेला पी एच डीको लागि अमेरिकामा हुनुहुन्थियो। वहाँले कसरी यो कुराबाट पार पाउनु भयो थाहा भएन । तर हो यस्ता खालका मुल्याहा मान्छेले सबैलाई पिरोल्ने गर्दछन्। धन्न मेरो र मेडमको घर बिग्रिएको थियो। यस्ता मान्छेसंग बच्न ठिक हो कि कडा जवाब दिन ठिक हो त्यो बहसको बिषय हुन सक्छ। तर म बच्न तिर लागेको थिए। बचेको थिए। आजसम्म पनि यो कुराको स्मरण बेलाबेलामा हुन्छ। घाउ निको भए पनि खत छोड्छ भनेको सायद यही होला।

समाप्त।
Feel Free to Share
CopyRight: Raju Subedi         

Wednesday, January 18, 2017

धन हुनेको मन चाहिन्छ

मानिसहरु जीवनमा सुखी हुन लगातार प्रयत्नशील हुन्छन् । सुखको अर्को नाम खुसी हो । समाजमा मानिस विभिन्न प्रकारका हुन्छन् । धन कमाए समाजमा इज्जत र शक्ति पाइनुका साथै सुखी पनि हुन सकिन्छ भन्ने मान्यता राख्ने मानिसको संख्या अत्यधिक छ । सुख हुन धन नै चाहिने हो भने धन भएका मानिसहरु सबै आनन्दमा हुनुपर्ने हो तर यस्तो भएको खासै भेटिदैन । घर घरको संस्कारमा धेरै कुरा भर पर्दछ याने धनको महत्वलाई कसरी बुझेका छन् भनी। धनले समाजमा शक्ति तथा इज्जत आर्जन गर्न सकिन्छ भनेर विचार गर्ने मानिसले यसको पराकाष्ठा समाजमा शासन गर्ने हो भन्ने बुझेको हुन्छ । यहाँ धनले सुख होइन शक्ति र डरको इज्जत आर्जन गर्ने देखिन्छ । जहाँ शक्ति हुन्छ त्यहाँ अभिमान हुन्छ । अभिमानी व्यक्तिका मित्र कम शत्रु धेरै हुने कुरा सर्वविदितै छ । यहाँ धनले सुख ल्याएको कतै देखिदैन् । धनले यहाँ मात्र अरुलाई आफ्नो शक्ति प्रदर्शन गरि धम्क्याउदा डरको इज्जत प्राप्त भएको देखियो । अर्थात धन हुँदैमा मानिस सुखी हुन्छ भन्नु मुर्खता हो । धनले मानिसको अन्तरात्मालाई मोटो तह भएर ढाकिदिन्छ जसको कारण ऊ आफु के के न भए भन्ने हुन्छ । धन भएका तर धनको अभिमान नभएकाहरु धन भए पनि सुखी हुन्छन् भने यदि त्यो नाश भए पनि सुखी नै हुन्छन् । यी मानिसहरु प्रकृतिले दिएको एउटा उपहार हुन् जसको यहाँ धेरै महत्व छ । धन भए धनको सहयोगले नभए आफ्नो सेवाले समाजमा पिछडिएका वर्गलाई उकास्न यस्ता जन सधै अग्रसर हुन्छन् । सुखी हुन धन होइन मन चाहिन्छ । चाहिने भन्दा बढी धनले मात्र राग र द्वेष उत्पन्न गर्ने काम गर्दछ । सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ मानिस आफ्नो सम्पूर्ण समय धन कमाउनमा नै खेर फाल्दछ । धेरै ठाउँमा पढ्न पनि पाइन्छ मानिस आफ्नो जीवनमा कमाएको सत्तरी प्रतिशत यसै छाडेर परलोक जान्छ भन्ने अर्थात उसलाई जीवनभर आफुले कमाएको तीस प्रतिशत भए पुग्दोरहेछ । यस्तो फाल्तु चिज ज्यादा कमाउन आफ्नो जीवनको अमुल्य समय खर्चिएको राम्रो कदाचित हुनै सक्दैन । मरेको अर्को दिन दुई दिन हुन्छ भन्ने कहावत नसुनेका कमै मानिस होलान् । आफु खुसी र सुखी हुन अरु मानिसलाई सुखी बनाउने अर्थात सेवा गर्ने यत्न गर्नु उत्तम बाटो हुनसक्छ । सेवाले मनमा खुसी हुने तरंग पैदा गर्दा मान्छेले बल्ल बुझ्दछ जहाँ खुसी छ त्यहाँ सुख छ भन्ने याने मन प्रसन्न त जग प्रसन्न हुन्छ । यसैले धनको होडमा लाग्नेले कतै सुख खोज्ने चक्करमा आफ्नो वास्तविक सम्पत्ति खुसीको बलिदान त दिएको छैन । खुसीको बलिदान गर्ने मानिस कहिल्यै सुखी हुन सक्दैन् । मनको धनि अर्थात् मन आफ्नो वशमा भएको मान्छे योगी हो जसलाई यही संसारमा प्राप्त हुने अनि फेरी यही संसारमा विलिन हुने पदार्थको कुनै मोह हुदैन । त्यसैले उसको सुख र खुसी कसैले लुट्न सक्दैन । धन यस्तो पदार्थ हो जुन आज यसको छ भने भोलि कसैको हुन सक्छ । त्यसैले धन होस् या नहोस् मनको धनि हुने व्यक्ति पक्का यो संसारको खुसी र सुखी मान्छे हो ।

CopyRight:Raju Subedi