मानिसहरु जीवनमा सुखी हुन लगातार प्रयत्नशील हुन्छन् । सुखको अर्को नाम खुसी हो । समाजमा मानिस विभिन्न प्रकारका हुन्छन् । धन कमाए समाजमा इज्जत र शक्ति पाइनुका साथै सुखी पनि हुन सकिन्छ भन्ने मान्यता राख्ने मानिसको संख्या अत्यधिक छ । सुख हुन धन नै चाहिने हो भने धन भएका मानिसहरु सबै आनन्दमा हुनुपर्ने हो तर यस्तो भएको खासै भेटिदैन । घर घरको संस्कारमा धेरै कुरा भर पर्दछ याने धनको महत्वलाई कसरी बुझेका छन् भनी। धनले समाजमा शक्ति तथा इज्जत आर्जन गर्न सकिन्छ भनेर विचार गर्ने मानिसले यसको पराकाष्ठा समाजमा शासन गर्ने हो भन्ने बुझेको हुन्छ । यहाँ धनले सुख होइन शक्ति र डरको इज्जत आर्जन गर्ने देखिन्छ । जहाँ शक्ति हुन्छ त्यहाँ अभिमान हुन्छ । अभिमानी व्यक्तिका मित्र कम शत्रु धेरै हुने कुरा सर्वविदितै छ । यहाँ धनले सुख ल्याएको कतै देखिदैन् । धनले यहाँ मात्र अरुलाई आफ्नो शक्ति प्रदर्शन गरि धम्क्याउदा डरको इज्जत प्राप्त भएको देखियो । अर्थात धन हुँदैमा मानिस सुखी हुन्छ भन्नु मुर्खता हो । धनले मानिसको अन्तरात्मालाई मोटो तह भएर ढाकिदिन्छ जसको कारण ऊ आफु के के न भए भन्ने हुन्छ । धन भएका तर धनको अभिमान नभएकाहरु धन भए पनि सुखी हुन्छन् भने यदि त्यो नाश भए पनि सुखी नै हुन्छन् । यी मानिसहरु प्रकृतिले दिएको एउटा उपहार हुन् जसको यहाँ धेरै महत्व छ । धन भए धनको सहयोगले नभए आफ्नो सेवाले समाजमा पिछडिएका वर्गलाई उकास्न यस्ता जन सधै अग्रसर हुन्छन् । सुखी हुन धन होइन मन चाहिन्छ । चाहिने भन्दा बढी धनले मात्र राग र द्वेष उत्पन्न गर्ने काम गर्दछ । सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ मानिस आफ्नो सम्पूर्ण समय धन कमाउनमा नै खेर फाल्दछ । धेरै ठाउँमा पढ्न पनि पाइन्छ मानिस आफ्नो जीवनमा कमाएको सत्तरी प्रतिशत यसै छाडेर परलोक जान्छ भन्ने अर्थात उसलाई जीवनभर आफुले कमाएको तीस प्रतिशत भए पुग्दोरहेछ । यस्तो फाल्तु चिज ज्यादा कमाउन आफ्नो जीवनको अमुल्य समय खर्चिएको राम्रो कदाचित हुनै सक्दैन । मरेको अर्को दिन दुई दिन हुन्छ भन्ने कहावत नसुनेका कमै मानिस होलान् । आफु खुसी र सुखी हुन अरु मानिसलाई सुखी बनाउने अर्थात सेवा गर्ने यत्न गर्नु उत्तम बाटो हुनसक्छ । सेवाले मनमा खुसी हुने तरंग पैदा गर्दा मान्छेले बल्ल बुझ्दछ जहाँ खुसी छ त्यहाँ सुख छ भन्ने याने मन प्रसन्न त जग प्रसन्न हुन्छ । यसैले धनको होडमा लाग्नेले कतै सुख खोज्ने चक्करमा आफ्नो वास्तविक सम्पत्ति खुसीको बलिदान त दिएको छैन । खुसीको बलिदान गर्ने मानिस कहिल्यै सुखी हुन सक्दैन् । मनको धनि अर्थात् मन आफ्नो वशमा भएको मान्छे योगी हो जसलाई यही संसारमा प्राप्त हुने अनि फेरी यही संसारमा विलिन हुने पदार्थको कुनै मोह हुदैन । त्यसैले उसको सुख र खुसी कसैले लुट्न सक्दैन । धन यस्तो पदार्थ हो जुन आज यसको छ भने भोलि कसैको हुन सक्छ । त्यसैले धन होस् या नहोस् मनको धनि हुने व्यक्ति पक्का यो संसारको खुसी र सुखी मान्छे हो ।
CopyRight:Raju Subedi
No comments:
Post a Comment