अनुभव गर्नु वा हुनुले केही कुराको पूर्णताको आभास गराउने गर्दछ । अनुभव नै एउटा यस्तो अदृश्य मनमा रहेको भावनाको स्थिति हो जसले मानिसको आन्तरिक प्रसन्नता तथा अप्रसन्नतालाई बाहिरी सतहमा खुसी वा दुखी भएको उजागर गर्ने गर्दछ । मन, बुद्धि, देश, काल, घटना र परिस्थितिले अनुभवको निर्धारण गरेको हुन्छ । आफुमा निहित राग र द्वेषले उत्त्पन्न गराएको इच्छाले अनेक किसिमको अनुभूतिको अनुभव गर्ने अवसर दिने गर्दछ । आफ्नो कस्तो राग अथवा इच्छा छ यसले अगाडि आउने वा हुने अनुभवलाई तय गरेको हुन्छ । द्वेष पनि उस्तै नै हो । आफुले कपट गरे त्यसको परिणाम पनि कपटबाटै पाइने हुँदा अनुभव पनि गतिलो नहुने कुरा यथार्थ नै हो । मानिस सुखी हुन्छु भन्ने चाहन्छ तर उसले गरेको कामको प्रतिफलले उसको चित्त बुझेको हुँदैन । ऊ असन्तोष हुन्छ । उसलाई अझै बढीको आकांक्षा हुन्छ । यसैकारण मौकाले पाएको खुसीको अनुभव पनि दु:खमा रुपान्तरण हुने गर्दछ । यथार्थमा यो प्रकृतिमा हरेक जीव जन्तुलाई खुसीले बाच्ने अवसर नै अवसर छ । तर इच्छाको प्रबलताले थिचिएको बिचरा मानिस कसरी खुसी र सजीव हुन सकोस् । कसरी अनुभवको पूर्णतालाई बुझोस् । वास्तवमा अनुभवको पूर्णता त त्यहाँ हुने गर्दछ जहाँ मानिसले आफ्नो लोभ र मोहको हद जान्दछ । हामीलाई हर समय सुख वा दु:खको अनुभूति ताजा वा बासी अनुभवले नै गराउने कुरा सत्य हो । सुख र दु:ख एक हो भनी बुझ्ने महाज्ञानीको लागि अनुभवको कुनै महत्व हुँदैन । वहाँहरु मानिसको राग र द्वेषको पराकाष्ठाको स्थिति देखी दयाले, करुणाले ज्ञान बाड्नु बाहेकको अर्को विकल्प देख्नु हुँदैन । त्यसैले सङ्गृहीत अनुभवमा व्यग्रताको तुलानात्मक जाँचले आफ्नो लागि कुन हद ठिक हो तय गर्न सके खुसी र सुख सबैको पोल्टामा पर्ने पक्का छ ।
No comments:
Post a Comment