Saturday, September 17, 2016

सफलता जीवनको लक्ष्य हुन सक्दैन

सफलता जीवनको लक्ष्य हुन सक्दैन किनकी सफलताको माप नै छैन । धेरैले सफलतालाई पैसासंग जोडेर हेरेको देख्छु के पैसा कमाएको मानिस जीवनमा सफल हो त ? कति कमाए उसले आफुलाई सफल ठान्ने छ ? के उसलाई थाहा छ ? उसलाई नै यो थाहा हुदैन कतिले ऊ सन्तोष हुन्छ भन्ने । भनेको मतलब ऊ अझै सफल भै सकेको छैन । त्यसतै के एउटा धेरै पढेलेखेको मान्छे आफुलाई सफल भएको ठान्छ त ? तर ऊ पनि पिडितनै छ किनकी ऊ पढेर निस्किएको त छ, तर ऊसंग भने जस्तो जागिर छैन यदि छ भने पनि ऊ कहाँ कुन पदमा पुग्न चाहन्छ उसैलाई थाहा छैन किनकी पदको पनि कुनै सीमा छैन । ऊ पहिला आफु अफिसरमात्र हुने उदेश्य राख्ला तर पछि आफ्नो पद भन्दा माथिका हाकिमहरु देखि डाह पक्कै गर्ने छ। अनि उसलाई  पनि माथि भन्दा माथि पुग्ने इच्छाले निरन्तर सताउने छ । यस्तो इच्छाले गर्दा आफु वास्तवमा सफल भए कि भएन भन्ने जीवनभर थाहानै नपाईकन अवकाश पाउने तय छ। हो सफलता कसैले नाप्न सक्ने चिज नै होइन । यदि सफलता नाप्न सकिदैन भने मानिस किन आफु सफल वा असफल भएको माप गर्दै दिनहु दुखी भएको हुन्छ । मानिसको सबैभन्दा ठुलो कमजोरी भनेको अर्कासंग तुलना गर्नु हो। त्यसैले मानिस जुन दिन आफ्नो तुलना अरुसंग गर्न छोड्दछ त्यही दिनबाट नै ऊ आफ्नो स्व कर्मबाट सफल व्यक्ति हो । मानिस पृथ्वीमा कर्म गर्न आएको मात्र हो जे उसका कर्म छन् पछ्याएर आउने छ । र, उसले त्यो निभाउन नै पर्ने छ । उसलाई त्यस कर्मबाट कदम कदाचित भाग्न नियतिले दिनेवाला छैन । त्यसैले जीवन एउटा मेला हो कसैसंग आफुलाई नदाजौं आएको र पाएको कर्म गरौं । कसैलाई सानो र कसैलाई ठुलो नदेखौं किनकी प्रकृतिले सबैलाई बराबर दिएको छ त्यसलाई चिनौं । सफलता आफुमा छ । सम्पूर्ण जगतमा रहेका भएका असंख्य प्राणीलाई एक जान्नु मानव जीवनको सफलता हो। सत्यसंग केहीको दाँजो छैन जे आफु हो या छ त्यसलाई चिन्न सके आफु सफल भएको ठाने हुन्छ । किनकी त्यो अवस्था भनेको आफुलाई पाएको अवस्था हो । यस्तो अवस्थामा हरेकसंग प्रेम हुन्छ। प्रेम जहाँ हुन्छ त्यहाँ परमानन्द हुन्छ । जसमा परमानन्द हुन्छ त्यहाँ खिलेको मुस्कान हरेकको लागि हुन्छ। जीवन सफल नै सफल हुन्छ।
CopyRight: Raju Subedi