Saturday, January 28, 2017

भय र अभिमान कसरी ?

कुनै पनि चोट वा पिडा यति गहिरो हुन सक्दैन जसले जीवनलाई नै अन्धकारमय बनाउन सकोस । घटनाले परिस्थितिमा बदलाव ल्याउने पक्का हो । तर सिर्जित परिस्थिति पनि फेरी बदलिने कुरा अकाट्य छ । प्रकृतिमा कुनै यस्तो चिज नै छैन जुन हरेक क्षण परिवर्तन नभएको होस् । आफैलाई ध्यान दिएर नियालेमा सबैभन्दा सजिलो उत्तर पाउन सकिन्छ । जन्म र मृत्युको बिचमा लगातार हाम्रो शारीरिक तथा मानसिक स्थितिमा परिवर्तन आउने कुरा सबैले महसुस गरेकै हुन्छ । यसलाई रोक्न सक्ने क्षमता आजको विज्ञानमा पनि छैन। जिन्दगीमा सही दिशा लिएर जीवनलाई आदर्श बनाउन कमैले सकेका हुन्छन् । कर्म गर्नु जरुरी छ। कोही पनि मानिस बिना कर्म गरि यो संसारलाई त्याग्न सक्दैन। कुनै पनि कर्म सानो वा ठुलो हुँदैन। तर स्वार्थ रहित भए सुनमा सुगन्ध हुन्छ। स्वार्थ रहित कर्म भनेर कस्तो कर्मलाई बुझ्ने भन्ने कुरा सायद बहसको बिषय हुन सक्छ। मेरो नजरमा कुनै पनि पेशामा पहिलो सर्त सेवा हुनु अत्यन्त आवश्यक कुरा हो । व्यापार व्यवसाय अथवा कुनै पनि काममा यदि सेवा भाव अगाडि छ भने यसले अरु मानिसको मात्र कल्याण हुने होइन आफ्नो कल्याण त सबैभन्दा पहिले भएको हुन्छ। हामी प्राकृतिक तत्व सबै एक हौं त्यसमा कुनै शंका छैन।  सबैलाई सबैको उत्तिकै आवश्यकता छ। अर्थात् सबै प्राकृतिक तत्व एक अर्कामा आश्रित छन् । तर जब संसार नै हरक्षण परिवर्तनशील छ भने हाम्रो अस्तित्वको यहाँ के नै मोल छ र? यसकारण घटनाले परिस्थितिमा बदलाव ल्याएर के नै हुने हो र, हामी खुसी वा उदास हुनु पर्ने। वास्तवमा, अवास्तविक खुसी र दु:ख त हामी आफै सिर्जना गर्ने गर्छौं। तर सत्यमा दुवैको कुनै अस्तित्व नै छैन। हामी त अन्धकारमा बाँचेका छौं अर्थात् अनुकुल परिस्थिति भए खुसी भएको भान गर्छौं भने  प्रतिकुल परिस्थिति भए दुखी भएको भान गर्छौं। मानव जीवनमा घटनाको शृंखला नमरेसम्म सकिदैन भने किसिम किसिम परिस्थितिले सुख र दु:ख महसुस गराउन छोड्ने पनि छैन। त्यसैले घटनालाई महत्व दिँदा अनुकुल परिस्थिति बने अभिमानी बनाउछ भने प्रतिकुल परिस्थिति बने भय सिर्जना गराउछ । त्यसैले जीवन मरणको यो असत्य दुनियाँमा घट्ने घटना र उत्पन्न हुने परिस्थिति एउटा माया हो। यसलाई बुझे जीवन अमृत तुल्य छ नबुझे विषको भण्डारमा वास छ।
CopyRight:RajuSubedi

Feel Free to Share            

Friday, January 27, 2017

ज्ञान


द्वेष: कामना र अभिमानमा बाधा आउदा क्रोधको जन्म हुन्छ  अन्त:करणमा त्यो क्रोधको जुन सुक्ष्म रुप रहन्छ, त्यसलाई द्वेष भनिन्छ

Friday, January 20, 2017

घटनाले छाप छोड्छ (Short Story)

समय सबैभन्दा बलवान हुन्छ । हो यसले गहिरो आघातलाई पनि धमिलो यादमा बदल्न सक्छ भन्ने यथार्थ मेरो जीवनमा पनि घटित भएको छ। मेरो उमेरले म पैसठ्ठी भईसकेको छु। तर मेरो जीवनको चालिसेमा एउटा विचित्रको घटना घटेको थियो। त्यो बेला म दुई छोरी र एक छोराको पिता भई सकेको थिए। मेरो परिवार मेरो संसार थियो। मेरी पत्नी सुन्दर सुशील अनि काँधमा काँध मिलाएर साथ दिने खालकी थिईन र अझै छिन् पनि। म त्यो बेला सरकारी जागिरे थिए। बच्चा साना हुने बेलासम्म हामी संगै देशको कुना कुनामा पुगेका थियौं। बच्चाहरु त्यही ठाउँको स्कुलमा पढ्दै ठुला हुँदै थिए। मैले तीस बर्षमा विहे गरेको हुँदा बच्चाहरु म चालिस हुँदासम्म पनि सानै लाग्थिए। हाम्रो दिनचर्चा यस्तै खुसी खुसी बित्दै गई राखेको थियो। काठमाडौँमा घर किन्ने र केटा केटीलाई त्यही पढाउने विचारगरि हामीले गाउँको ठुलो जग्गा बेचेका थियौं। जग्गा बेचेको केही समयमा नै साथीहरुको सहयोगले काठमाडौँमा एउटा बाह्र आनामा फैलिएको बनिबनाऊ दुई तल्ले घर किनेका थियौं। यही समयमा केटा केटीहरु पनि अन्तिम परीक्षा दिएर परीक्षाफल कुर्दै थिए। ठुली छोरी यसबेला चारमा जानेवाली थिई भने अर्की छोरी दुईमा अनि सानो छोरो एकमा जानेवाला थियो। केटा केटीलाई काठमाडौँ पढाउने भन्ने हाम्रो सल्लाहले घर किनेपछि मुर्तरुप लिएको थियो। केटा केटीहरुको परीक्षाफल प्रकाशित हुनु अगावै हामी काठमाडौँमा आएर सबै व्यवस्था मिलाएका थियौं। केटा केटीलाई कुन स्कुलमा पढाउने भन्ने पनि निधो गरिसकेको थियौं। मैले सबै व्यवस्था मिलाएर आफ्नो परिवारलाई छाडी महेन्द्र नगर फर्किएको थिए। मेरो त्यति बेलाको दरबन्दी महेन्द्र नगरमा थियो। मैले आफ्नी पत्नीलाई चाडै नै काठमाडौँमा सरुवा मिलाउछु भनी आश्वासन पनि दिएको थिए। तर त्यति बेलासम्म मैले कहीं कसैलाई भनसुन गरेको भने थिएन। भनसुन नगरी यहाँ केही हुँदैन भन्ने थाहा त राम्रैसंग थियो। तर बिडम्बना मलाई भनसुन गर्नु जति दुख केही लाग्दैन थियो। म जहाँ छु त्यही रमाउथिए। म महेद्र नगर फर्किएको पनि तीन महिना भन्दा बढी भईसकेको थियो। यहाँ आएबाट एकपटक पनि काठमाडौँ जान पाएको थिएन। मैले मेहनतले मिलिजुली काम गर्ने भएकोले सबैले मलाई मन पराउथिए। म तहको हिसाबले हाम्रो अफिसमा हाकिम भन्दा तेस्रो मर्यादाक्रममा थिए। हाम्रो हाकिम निला मेडम हुनुहुन्थियो। वहाँ असलको नमुना नै हुनुहुन्थियो। तर मेडम भन्दा एक तह तलको सहकर्मीले वहाँसंग सधै अनेक कुरामा विवाद निकाली रहन्थियो । मेडमले गरेको कुनै काम पनि उसले सजिलै सहमति गर्दैन थियो। मेडमको बारेमा चाहिने नचाहिने कुरा माथि विभागमा चुक्ली लगाएर वाक्कदिक्क पारेको थियो। मेडमले उसलाई नसोधी कति काम मबाट लिने गर्नु हुन्थियो। मैले वहाँको समस्या बुझेर त्यो मेरो काम नभए पनि गरिदिएको हुन्थिए। तर यो मान्छेले के के गरेर मैले गरिदिएको कामको पत्तो पाएकै हुन्थियो। ऊ सुरु सुरुमा मसंग मिल्ने गर्थियो तर बिस्तारै म पनि उसको तारो हुन लागेको थिए। मलाई पनि विभागबाट फोन आउन सुरु गरेको थियो। आलोक जी तपाईको काममा असन्तोष जनाउनेहरु छन् है बच्नु भनेर। मेरो विभागमा राम्रो सम्बन्ध भएकोले साथीहरुले सतर्क गराउने गर्दथिए। यो हाम्रो महेन्द्र नगर अफिसको सेकेन्ड मेनको मन्त्रालयमा आफ्नै कोही राम्रो तहमा रहेछ। त्यसैले उसको फुर्ति अर्कै थियो। र यति विधि सबैलाई सताउने गर्दथियो । त्यसले मेडमलाई आँखा फुटी रुचाउदैन थियो। मेडमको कतिपय काम मैले गर्दिन थाले पछि म पनि उसको दुश्मनको सुचीमा परेको थिए। मैले के पो गर्ला र जाबोले भनेको त यस्तो घटिया काम गर्यो जुन सपनामा पनि सोच्न सकिदैन थियो। उसले मेडम र मेरो बिचमा सम्बन्ध छ भनी यहाँ महेन्द्र नगर अफिसमा मात्र होइन कि काठमाडौँ विभागसम्म हल्ला पुर्याई दिएको थियो। यो कुरा मैले साथीहरुबाट थाहा पाएको थिए । मलाई डर लागेर यो कुरा मैले मेरो पत्नीलाई खुदै बताई केही होइन है भनी विश्वास दिलाएको थिए। त्यही पनि उसलाई तनाव भएको फोनमा महसुस गरेको थिए। मेडम बिचरा दिक्क हुनु भएको थियो। वहाँ बिस्तारै मसंग बोल्न पनि छाडी दिनु भएको थियो। मेरो तथा मेडमको कुनै गल्ती नै नभईकन पनि हामी सबै तनावमा परेका थियौं। मेडमको श्रीमान त्यो बेला पी एच डीको लागि अमेरिकामा हुनुहुन्थियो। वहाँले कसरी यो कुराबाट पार पाउनु भयो थाहा भएन । तर हो यस्ता खालका मुल्याहा मान्छेले सबैलाई पिरोल्ने गर्दछन्। धन्न मेरो र मेडमको घर बिग्रिएको थियो। यस्ता मान्छेसंग बच्न ठिक हो कि कडा जवाब दिन ठिक हो त्यो बहसको बिषय हुन सक्छ। तर म बच्न तिर लागेको थिए। बचेको थिए। आजसम्म पनि यो कुराको स्मरण बेलाबेलामा हुन्छ। घाउ निको भए पनि खत छोड्छ भनेको सायद यही होला।

समाप्त।
Feel Free to Share
CopyRight: Raju Subedi         

Wednesday, January 18, 2017

धन हुनेको मन चाहिन्छ

मानिसहरु जीवनमा सुखी हुन लगातार प्रयत्नशील हुन्छन् । सुखको अर्को नाम खुसी हो । समाजमा मानिस विभिन्न प्रकारका हुन्छन् । धन कमाए समाजमा इज्जत र शक्ति पाइनुका साथै सुखी पनि हुन सकिन्छ भन्ने मान्यता राख्ने मानिसको संख्या अत्यधिक छ । सुख हुन धन नै चाहिने हो भने धन भएका मानिसहरु सबै आनन्दमा हुनुपर्ने हो तर यस्तो भएको खासै भेटिदैन । घर घरको संस्कारमा धेरै कुरा भर पर्दछ याने धनको महत्वलाई कसरी बुझेका छन् भनी। धनले समाजमा शक्ति तथा इज्जत आर्जन गर्न सकिन्छ भनेर विचार गर्ने मानिसले यसको पराकाष्ठा समाजमा शासन गर्ने हो भन्ने बुझेको हुन्छ । यहाँ धनले सुख होइन शक्ति र डरको इज्जत आर्जन गर्ने देखिन्छ । जहाँ शक्ति हुन्छ त्यहाँ अभिमान हुन्छ । अभिमानी व्यक्तिका मित्र कम शत्रु धेरै हुने कुरा सर्वविदितै छ । यहाँ धनले सुख ल्याएको कतै देखिदैन् । धनले यहाँ मात्र अरुलाई आफ्नो शक्ति प्रदर्शन गरि धम्क्याउदा डरको इज्जत प्राप्त भएको देखियो । अर्थात धन हुँदैमा मानिस सुखी हुन्छ भन्नु मुर्खता हो । धनले मानिसको अन्तरात्मालाई मोटो तह भएर ढाकिदिन्छ जसको कारण ऊ आफु के के न भए भन्ने हुन्छ । धन भएका तर धनको अभिमान नभएकाहरु धन भए पनि सुखी हुन्छन् भने यदि त्यो नाश भए पनि सुखी नै हुन्छन् । यी मानिसहरु प्रकृतिले दिएको एउटा उपहार हुन् जसको यहाँ धेरै महत्व छ । धन भए धनको सहयोगले नभए आफ्नो सेवाले समाजमा पिछडिएका वर्गलाई उकास्न यस्ता जन सधै अग्रसर हुन्छन् । सुखी हुन धन होइन मन चाहिन्छ । चाहिने भन्दा बढी धनले मात्र राग र द्वेष उत्पन्न गर्ने काम गर्दछ । सबैभन्दा अचम्म लाग्ने कुरा त यो छ मानिस आफ्नो सम्पूर्ण समय धन कमाउनमा नै खेर फाल्दछ । धेरै ठाउँमा पढ्न पनि पाइन्छ मानिस आफ्नो जीवनमा कमाएको सत्तरी प्रतिशत यसै छाडेर परलोक जान्छ भन्ने अर्थात उसलाई जीवनभर आफुले कमाएको तीस प्रतिशत भए पुग्दोरहेछ । यस्तो फाल्तु चिज ज्यादा कमाउन आफ्नो जीवनको अमुल्य समय खर्चिएको राम्रो कदाचित हुनै सक्दैन । मरेको अर्को दिन दुई दिन हुन्छ भन्ने कहावत नसुनेका कमै मानिस होलान् । आफु खुसी र सुखी हुन अरु मानिसलाई सुखी बनाउने अर्थात सेवा गर्ने यत्न गर्नु उत्तम बाटो हुनसक्छ । सेवाले मनमा खुसी हुने तरंग पैदा गर्दा मान्छेले बल्ल बुझ्दछ जहाँ खुसी छ त्यहाँ सुख छ भन्ने याने मन प्रसन्न त जग प्रसन्न हुन्छ । यसैले धनको होडमा लाग्नेले कतै सुख खोज्ने चक्करमा आफ्नो वास्तविक सम्पत्ति खुसीको बलिदान त दिएको छैन । खुसीको बलिदान गर्ने मानिस कहिल्यै सुखी हुन सक्दैन् । मनको धनि अर्थात् मन आफ्नो वशमा भएको मान्छे योगी हो जसलाई यही संसारमा प्राप्त हुने अनि फेरी यही संसारमा विलिन हुने पदार्थको कुनै मोह हुदैन । त्यसैले उसको सुख र खुसी कसैले लुट्न सक्दैन । धन यस्तो पदार्थ हो जुन आज यसको छ भने भोलि कसैको हुन सक्छ । त्यसैले धन होस् या नहोस् मनको धनि हुने व्यक्ति पक्का यो संसारको खुसी र सुखी मान्छे हो ।

CopyRight:Raju Subedi



Saturday, January 14, 2017

मेरो चुरीफुरी (हास्यव्यङ्ग्य)

हिड्नु स्वाथ्यको लागि फाइदाजनक हो भन्ने थाहा त निकै पहिला पाए पनि यसको सुरुवात भर्खर गरेको अवस्था छ । बिहानी सैरमा निस्किदा अनेक किसिमका महानुभावहरूसंग मेरो सम्पर्क पनि व्यापक बढेको छ । युवा वर्ग बाहेक लगभग सबै केही न केही रोगबाट पिडित भएको कुरा मेरो हिड्ने काम भित्रको अर्को काम गफको दौरानमा मानिसको यो पिरोलोको बारेमा थाहापाउने भएको छ ।  रोग पनि कति हुन कसैलाई चिनी रोग, कसैलाई उच्च रक्तचाप, कसैलाई किड्नीको समस्या यस्ता धेरै थरिका रोग बेसाएका मानिसहरुसंग भेट्दा अनि रोगका लक्षणहरुका साथै उपचार विधिको बारेमा सुन्दासुन्दा आफै आधा डाक्टर भए कि भन्ने पनि भई सक्यो । एउटासंग थाहा पाएको लक्षण पहिला त आफ्नो शरीरसंग जुधाएर हेर्यो अनि हो कि, हो कि भएमा चिने जानेको डाक्टर साहेबहरुसंग परामर्श गर्यो । छैन र होइन रहेछ भने आफ्ना हिड्ने साथीलाई रोगको रोगथाम र निदान कसरी गर्न सकिन्छ भन्नेबारे आफु जान्ने भएर भाषण छाट्यो । जान्ने आफु पनि खासै होइन भन्ने थाहा हुँदाहुँदै पनि बातमा गफ त दिनै पर्यो । कति साथीले जान्ने हुन्छ भन्दा हुन भने कोही सिधासाधा साथी परे भने मैले भने अनुरुप गर्दा पनि हुन । जे होस आजकल कि राजनीति, कि धर्म या रोगको बारेमा अल्ली केही जानकारी राख्ने मान्छे चिया पार्टी वा कुनै भोज वा जमघटमा जान्नेसुन्ने नै भए जस्तो देखिन्छन् । राजनीतिको बारेमा चर्चा नहुने सायद नेपालमा कुनै गाउँ ठाउँ नै छैन होला । त्यसैले राजनीतिबारे दखल राख्नेहरु चंखे नै भई हाले, भनेको मतलब यिनीहरु अरुलाई मान्छे नै ठान्दैनन् । आफै बोल्छन बोलि नै राख्छन् चाहे कसैले सुनोस या नसुनोस । तर साँच्चीकै नेपाली जन यदि यिनका कुरा नसुन्ने नै हुन्थे भने देशको यस्तो दरिद्र हविगत हुने कुरै थिएन । यथार्थमा ठुलो जनलाई आकर्षण गर्ने क्षमता यिनमा भएको हुँदा केही मौकाखोरहरुलाई आफ्नो पक्ष्यमा ल्याउन सफल भई नै हाल्ने गर्दछन् । धर्मको पक्ष्य पनि भारी नै छ किनकी धर्मबाटै हाम्रो संस्कार निर्माण भएको हुन्छ । जब संस्कार नै यसैबाट संचालित छ र जो व्यक्ति विशेषसंग यसको गतिलो अत राम्रो ज्ञान छ, उसको प्रतिष्ठा कस्तो होला ? यसै पनि धर्मको राम्रो ज्ञान भएका मानिसको बोलिमा मह नै हुन्छ, यसैकारण हामी मोहित भई सबै कुरा सुन्ने हुँदा उनीहरुको पनि चुरीफुरी बढ्ने नै भयो । हो यस्तै किसिम किसिमका ज्ञान आर्जन गरेकाको चुरीफुरी बढेजस्तै आजकल म मा पनि यो चुरीफुरी रोगको लत लागेको छ । याने डाक्टर नभए पनि डाक्टरी छाँटेर । चिनी रोग भएकालाई चिनी कम खानोस्, उच्च रक्तचाप भएकालाई नुन कम खानोस् । किड्नी समस्या भएकालाई प्रोटिन ख्याल गर्नोस ईत्यादि ईत्यादि । मेरा अर्ध डाक्टरीको भरोशा गर्ने त सायदै कोही होलान्, तर मलाई जान्ने हुने मौकाचाहिँ खुब आएको हुन्छ । अरु, अरुमा खुसी होलान, तर म जान्ने भएकोमा मेरा वरिपरीका इष्टमित्रले जलन गरेको देख्दा मेरो मन प्रसन्न हुने गर्छ । जलन के भन्ने, अस्ति मैले घाटी दुख्नेलाई आइसक्रिम खाए ठिक हुन्छ भनेर भनेको, मेरो मामाको छोराले घाटी दुखेर ज्वरो आइएको बेलामा दाजीले आइसक्रिम खायो भने घाटी ठिक हुन्छ भन्नु भएको छ भनी मगाएर खाईदिएछ, फूच्चेलाई कडा निमोनिया भएर धन्यै नसुइकिएको । त्यसै त डर लाग्दि अग्ली अनि मोटी माइजु, धन्यै म लुरे पन्डितलाई बनवास गराईनन् । गाली खाने डरले मामा माइजु कहाँ नगएको छ महिना भन्दा बढी भईसक्यो । भाई त मलाई देखेमा उता मुख फर्काएर हिड्ने गर्छ । आफु कत्ति न के के भए भन्ठानेको त उही पुरानै जोगी नै रहेछु ।
Feel Free to share.

Friday, January 13, 2017

अनुभव कति सहयोगी ?


अनुभव गर्नु वा हुनुले केही कुराको पूर्णताको आभास गराउने गर्दछ । अनुभव नै एउटा यस्तो अदृश्य मनमा रहेको भावनाको स्थिति हो जसले मानिसको आन्तरिक प्रसन्नता तथा अप्रसन्नतालाई बाहिरी सतहमा खुसी वा दुखी भएको उजागर गर्ने गर्दछ । मन, बुद्धि, देश, काल, घटना र परिस्थितिले अनुभवको निर्धारण गरेको हुन्छ । आफुमा निहित राग र द्वेषले उत्त्पन्न गराएको इच्छाले अनेक किसिमको अनुभूतिको अनुभव गर्ने अवसर दिने गर्दछ । आफ्नो कस्तो राग अथवा इच्छा छ यसले अगाडि आउने वा हुने अनुभवलाई तय गरेको हुन्छ । द्वेष पनि उस्तै नै हो । आफुले कपट गरे त्यसको परिणाम पनि कपटबाटै पाइने हुँदा अनुभव पनि गतिलो नहुने कुरा यथार्थ नै हो । मानिस सुखी हुन्छु भन्ने चाहन्छ तर उसले गरेको कामको प्रतिफलले उसको चित्त बुझेको हुँदैन । ऊ असन्तोष हुन्छ । उसलाई अझै बढीको आकांक्षा हुन्छ । यसैकारण मौकाले पाएको खुसीको अनुभव पनि दु:खमा रुपान्तरण हुने गर्दछ । यथार्थमा यो प्रकृतिमा हरेक जीव जन्तुलाई खुसीले बाच्ने अवसर नै अवसर छ । तर इच्छाको प्रबलताले थिचिएको बिचरा मानिस कसरी खुसी र सजीव हुन सकोस् । कसरी अनुभवको पूर्णतालाई बुझोस् । वास्तवमा अनुभवको पूर्णता त त्यहाँ हुने गर्दछ जहाँ मानिसले आफ्नो लोभ र मोहको हद जान्दछ । हामीलाई हर समय सुख वा दु:खको अनुभूति ताजा वा बासी अनुभवले नै गराउने कुरा सत्य हो । सुख र दु:ख एक हो भनी बुझ्ने महाज्ञानीको लागि अनुभवको कुनै महत्व हुँदैन । वहाँहरु मानिसको राग र द्वेषको पराकाष्ठाको स्थिति देखी दयाले, करुणाले ज्ञान बाड्नु बाहेकको अर्को विकल्प देख्नु हुँदैन । त्यसैले सङ्गृहीत अनुभवमा व्यग्रताको तुलानात्मक जाँचले आफ्नो लागि कुन हद ठिक हो तय गर्न सके खुसी र सुख सबैको पोल्टामा पर्ने पक्का छ ।